१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ प्रहरीको ड्युटीमा खटिएका छन्। करातेबाट दुई स्वर्ण जितेका श्रेष्ठसँगै उसुबाट स्वर्ण जितेकी जुनी राई पनि ड्युटीमा खटिएका हुन्। दुवै जना नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि दुवै जना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बिहीबारदेखि ड्युटीमा खटिएका हुन्। ड्युटीमा खटिँदा आनन्द महसुस गरेको मण्डेले बताए।प्रहरीका हवल्दार मण्डेकाजी भन्छन्,’विषम परिस्थितिमा सेवा गर्नु पाउँदा आनन्द लाग्छ। सधैं जनताको साथमा छु। म पहिला प्रहरी, अनि खेलाडी।

‘मण्डेकाजीले गत मंसिरमा भएको सागमा करातेको एकल काता र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए। उनी दोहोरो स्वर्ण जित्ने चार खेलाडीमध्ये एक हुन्।जुनी प्रहरीकी असई हुन्। उनले उसुबाट ५६ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन्।सामान्य स्थितिमा विभागीय टिममा आवद्ध खेलाडीहरूले खेलकुदको तालिम मात्र गरे पुग्थ्यो। तालिम र प्रतिस्पर्धामा मात्र भाग लिने विभागीय खेलाडीहरु विशेष परिस्थितिमा भने ड्युटीमा खटिने गरेका छन्। यसअघि विभागीय खेलाडीहरू निर्वाचनमा खटिएका थिए भने कहिलेकाहीँ आन्दोलनमा पनि ड्युटी गरेका थिए।कोरोनाभाइरसका कारण गत चैतदेखि खेलकुदका गतिविधि ठप्प छन्। जसका कारण विभागीय टिमले खेलाडीहरूलाई ड्युटीमा खटाएको छ।

मण्डेकाजी ड्युटीमा खटिनुअघि कोरोनाले असर गरेका विपन्नका लागि राहत बाँड्न सक्रिय थिए। उनले भक्तपुरका विभिन्न क्षेत्रमा राहत वितरण गरेका थिए।सरकारले कोरोना कारण खेलकुद गतिविधि अझै बन्द राख्ने निर्णय गरेपछि खेलाडीहरूको विभागीय ड्युटी लम्बने भएको छ।नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने अधिकांश खेलाडी आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आवद्ध छन्। यसअघि आर्मी र सशस्त्रमा आवद्ध खेलाडी पनि ड्युटीमा खटिएका थिए। सेतोपाटी

Leave a comment

Your email address will not be published. Required fields are marked *