सुबास बेल्बासे पौष  अर्घाखाँची रुपन्देहीको बुटबलबाट बाइकमा करिब २ घण्टा २५ मिनेटको यात्रापछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० हर्रेबर्रे पुगियो । त्यहाँ पुग्दा अग्ला व्यक्ति साधारण कपडा लगाएका हातमा पाइप लिएर सिचाईका लागि आफ्ना कामदारहरु संगै काम गरिरहेका थिए । यम मल्टी एग्रोका संचालक कृषक यमलाल आचार्य, हामीलाई देखेर आफ्नो कामलाई पन्छ्याएर हामी संगै गफिन थाल्नु भयो । कृषक आचार्यको सपना कृर्षि मै उदाहरणीय काम गर्ने छ । कागती खेतीको लागि उपयुक्त र हावापानी सुहाउँदो जमिन खोज्दै जादा जमिन भेटिएपछि विगत १० बर्ष देखि थोरै थोरै जमिन किन्दै व्यवसायीक कृर्षि खेतीमा लागेका हुन् । पुर्खैली घर प्युठान भई २ दशक देखि कपिलवस्तुमा सपरिवार बस्दै आएका आचार्यले विगत ३ बर्ष देखि अर्घाखाँचीको शितगंगा–१०, हर्रेबर्रेमा ५० हेक्टर जमिन किनेर कागती खेती गरेर बसेका छन् । विद्यालय स्तरको शिक्षा, प्लस टु र स्नातक सम्मको अध्ययन कपिलवस्तुमै सकेर स्नातकोत्तर पढ्नको लागि काठमाण्डौं गएका आचार्यले मेनपावर कम्पनीमा काम गरेरै ऐच्छिक नेपाली र राजनिति शास्त्र गरी २ वटा बिषयमा स्नातकोत्तर गरेका छन् ।

केहि समय शिक्षण पेशामा आवद्ध भएपछि सबै कामलाई छोडेर आचार्य पुर्णकालिन रुपमा कागती खेतीमा लागेका छन् । घरपरिवारको खासै सहयोग नभएपनि कृर्षिमा भविष्य देखेर आफु यस पेशामा लागेको र अब शिक्षित व्यक्तिहरुले कृर्षि पढेर र बुझेर लागेमा मात्र कृर्षिबाट देशको समृद्धि हुने उनको भनाई छ । कृृषक आचार्य भन्छन्–“जस्ले जे भनेपनि अब मेरो सम्पुर्ण जीवन कागती खेती मै बित्ने छ ।” कृृषक आचार्यले करिब ३ करोड लगानी गरिसकेका छन् । आफ्नो लक्ष्य पुरा गर्नका लागि अझै २ करोड लगानी गर्ने योजनामा छन् । कागती खेती सुरु गरेको ३ बर्षमै आचार्यले १ क्वीनटल कागती उत्पादन गरेको तर कागती नबेचीकन हाईटेक नर्सरी मार्फत अन्य विरुवा उत्पादन गरेको बताए । उनको फर्ममा ४ जना स्थायी कर्मचारी रहेका छन् । सिजनमा ५ देखि ३० जना कर्मचारी थप्ने गरेका छन् ।

कागती मात्र नभएर कृर्षि मध्ये अन्य उत्पादन पनि गर्ने आचार्यको लक्ष्य रहेको छ । अहिले सम्म १२ हजार ५ सय वटा कागतीका बिरुवा रोपेका छन् । ३ बर्ष अघि ३ सय वटा कागतीका बिरुवा रोपेका आचार्यले भने २ बर्ष अघि थप २ सय बिरुवा रोपेका थिए । अरु बाकी बिरुवा यस बर्ष मात्र रोपिएको हो । कागती खेतीको लागी यम मल्टी एग्रोले आर्थिक बर्ष २०७५÷७६ मा राष्ट्रिय फलफुल विकाश केन्द्र कीर्तिपुरबाट ३२ लाख २ रुपैया अनुदान समेत प्राप्त गरेको थियो । अबको केहि बर्ष देखि हरेक आर्थिक बर्षमा १ करोड बराबरको कागती बेच्ने कृषक आचार्यको योजना रहेको छ ।