एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई सुरु गरी नतिजामा पुग्‍न निर्देशन गरिसकेको छ । यूईएफएले लिग सुरु गर्दा संक्रमणबाट बच्‍न सबै सुरक्षाका उपाय अपनाउनसमेत आग्रह गरेको छ ।

इटालियन फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राविनाले भिडियो कन्फरेन्समार्फत् क्लबहरुलाई लिग सिध्याउन अतिरिक्त समय दिन सकिने बताएको छ । यसअघि लिग पूरा गर्न सिरी एका सबै क्लब सहमत भएको जनाइएको थियो । पछिल्लो समय लिग पुनः सुरु भए आफ्नो क्लबलाई नपठाउने दाबी गर्दै आएका क्लबहरु पनि सिजन पूरा गर्न तयार रहेको बताइएको हो ।यता युरोपका विभिन्‍न लिग कमिटीहरुले युरोपियन कप र घरेलु लिगहरु कोरोना संक्रमणमुक्त भएपछि एकैसाथ सञ्‍चालन गर्न आग्रह गरेका छन् । त्यस्तै लिग कमिटीहरुले महादेशीय प्रतियोगिताहरु सुरु हुनुअघि सबै घरेलु लिग अगस्तसम्म पूरा गरिसक्नु पर्ने यूईएफएलाई आग्रह गरेका छन् ।