संजीत कुमार मण्डल । नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आफ्ना चार वर्षीय नातिको हर्नियाको शल्यक्रिया गराउन पाएपछि सुकमरिया देवीले दङ्ग छिन् । नातिको स्थितिप्रति चिन्तित उनले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित जिल्ला अस्पतालको माथिल्लो तल्लामा आज सम्पन्न शिविरमा यस्तो अवसर पाएकी हुन् । नाति हेर्न बसेकी उनले ५ नं शय्याबाटै जलेश्वर नपा–७ मा तैनाथ नेपाली सेनाको जय जयकार गरिन् ।जन्मैदेखि हर्नियाको समस्या बोकेका नाति आयुश कुमार महतोको अर्थाभावका कारण उपचार उनले गराउन सकेकी थिइनन् । एक्कासी नेपाली सेनाले जिल्लाको सोनमा गाउँपालिका ३ स्थित खखना माविमा ११ दिने निःशुल्क शिविरमा सञ्चालन गर्न आएपछि उनको अधुरो इच्छा पूरा भयो ।

विगत १०÷११ वर्षदेखि पाठेघरको रोग पालेर बसेकी साह तीन÷चार पटक काठमाडौं जाने प्रवन्ध मिलाएर पनि जान नसकेकी रहेछन् । आफ्नै गाउँमा नेपाली सेनाले आएर निःशुल्क शल्यक्रिया गरिदिएपछि उनले नेपाली सेनाप्रति कृतज्ञता व्यक्त गरिन् । चिकित्सकले उपचारमा ६०÷७० हजार खर्च गर्नुपर्छ भने पछि उनी आत्तिएर बसेकी थिइन् ।खर्चको जोहो गर्न नसकेर उनी रोग पालेर बस्न बाध्य थिइन् । निःशुल्क शल्यक्रिया गर्न पाएर खुशी देखिएकी उनले पटक पटक नेपाली सेनालाई धन्यवाद दिइन् । त्यसैगरी, छेउकै ३ नं शय्यामा पत्थरीको शल्यक्रिया गराएर बसिरहेकी जलेश्वर–८ की ६२ वर्षीया वृद्धा मुन्द्रिका झाले पनि नेपाली सेना भगवानै हो भनेर प्रशंसा गरिन् ।

उनले आफू बाहुन भएर पनि निक्कै अभावमा बाँच्नु परिरहेको र आफूले विगत ८ वर्षदेखि पत्थरीको शल्यक्रिया गराउन नसकेर दुःख झेल्दै आएको पीडा सुनाइन् । औरही नपा–४ का ७३ वर्षीय हरिचरण रायले पनि सोही शिविरमा हर्नियाको शल्यक्रिया गराउन पाए । नेपाली सेना सेना मात्रै नभएर दुःखियाको साथी रहेको अनुभूति आफूले गरेको पनि सुनाए ।सोनमा गाउँपालिका–८ बस्ने ५० वर्षीया बिल्टुनिया देवी मण्डलले पनि पाठेघरको निःशुल्क शल्यक्रिया गराइन् । उनी आफन्तजन कोही नभएर छिमेकी रामदुलारी देवीसँग शिविरमा आएकी रहेछन् । पति, छोराछोरी कोही नभएर पेट पाल्नै उनलाई धौ धौ छ तर, सेनाले उनको निःशुल्क शल्यक्रिया गरिदियो ।