एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् । प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एक आपसमा ४० माइलको दुरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

समूह चरणमा तीन खेलबाहेक हरेक टोलीले ३ दिनको विश्राम प्राप्त गर्नेछन् । एउटा रंगशालाबाट अर्को रंगशाला पुग्न विशेष सवारीको व्यवस्था गरिनेछ । हरेक खेलस्थल पुग्न आयोजकले सवारी व्यवस्था मिलाएको छ ।विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।