काठमाडौं ।राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकको ६५ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने गभर्नर अधिकारीको भनाइ छ । उनले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा वित्तीय प्रणालीमा लगानी योग्य साधनको अभाव हुन नदिन र वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई कृषि, उर्जा, पर्यटन, पूर्वाधार, साना तथा मझौला उद्यम, लगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा गर्न राष्ट्र बैंक कटिबद्ध रहेको जनाएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारिमा जाने अनुमति लिई जान नपाएका व्यक्तिहरूलाई राहत दिन पनि विशेष व्यवस्था गरिएको गभर्नर अधिकारीको भनाइ छ ।जसअनुसार त्यस्ता व्यक्तिहरूले सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा संक्रमणको जोखिम समाप्त भएपछि निवदेन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।संघ र प्रदेशमा स्थापना भएका कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा वित्तीय क्षेत्रबाट समेत सहयोग पुगोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले त्यस्ता कोषहरूमा गरेको योगदान रकमलाई सामाजिक उत्तरदायित्व खर्चअन्तर्गत गणना गर्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

चैत महिनामा नवीकरण गर्नुपर्ने कर्जाहरू नवीकरण नभएको आधारमा सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न अनिवार्य नगरिने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न दिइने जस्ता व्यवस्थाहरू गरेको छ ।त्यस्तै, पर्यटन, उद्योग, व्यापार, व्यवसाय लगायतका क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्दै आर्थिक गतिशीलता बढाउन ५० अर्बको पुर्नकजा कोषलाई ६० अर्बको बनाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । कोरोनाबाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ भने चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरूको भुक्तानी अवधि ६० दिनसम्म थप हुने व्यवस्था गरिएको छ ।